म्याद थप्दाथप्दै कुलेखानी तेस्रोमा २ अर्ब बढी खर्च।
२२ जेठ, काठमाडौं । मकवानपुरको भैंसेमा निर्माणाधीन १४ मेगावाटको कुलेखानी तेस्रो जलविद्युत आयोजना निर्माण ठेक्काको अवधि फेरि थपिएको छ । चौथोपटक म्याद थप्दासम्म आयोजनाको निर्माण नसकिएपछि आयोजनाको लागत दोब्बर हुने पक्का भएको भएको छ ।
आयोजना सन् २०११ डिसेम्बरसम्म सकिनेगरी सन् २००८ अपि्रलमा सुरु भएको थियो । ठेक्काको तोकिएको समय गुज्रेको पाँच वर्ष बितिसक्दा पनि काम सकिएको छैन । सुरुको लागत दुई अर्ब ५० करोड रुपैयाँ अनुमान गरिएकोमा विविध कारणले आयोजनाको म्याद लम्बिँदा आयोजनाको लागत वृद्धि भएर चार अर्ब २२ करोड रुपैयाँ खर्च भइसकेको आयोजनाले जनाएको छ ।
आयोजना सम्पन्न हुँदासम्म अब थप १३ करोड लाग्ने अनुमान छ । यसबाट आयोजनाको लागत चार अर्ब ३५ करोड रुपैयाँ पुग्नेछ ।अहिले नेपाल विद्युत प्राधिकरणको सञ्चालक समितिले पछिल्लोपटक आगामी पुस १५ गतेसम्म सक्ने गरी ठक्का अवधि लम्ब्याएको हो ।आयोजनाको सिभिलतर्फको निर्माण ठेक्का पाएको चिनियाँ कम्पनी सिनो हाइड्रोसँगको तेस्रोपटक थप भएको म्याद ०७३ बैशाख ६ गते सकिएको थियो ।यसअघिको म्यादभित्र काम नसकिएपछि चौथोपटक म्याद थप गर्नका लागि सञ्चालक समितिलाई पत्राचार गरिएको आयोजनाले जनाएको छ ।
मुख्य काम नै बाँकी
आयोजनाले हालसम्म ९५ प्रतिशत सिभिल निर्माणको काम सकिएको दाबी गरेको छ । पावर हाउस निर्माण भइरहेको छ भने टनेल फिनिसिङ, ड्याम गेट निर्माण, पेन स्टक पाइपमा कंक्रिटिङ, स्वीच र्यार्ड फाउन्डेशन निर्माण लगायतका काम बाँकी रहेको आयोजना प्रमुख सुवास मिश्रले जानकारी दिए । उनका अनुसार ४ दशमलव ३ किलोमिटरको सुरुङ बनिसकेको छ ।
थप भएको म्यादभित्र सबै काम सक्ने लक्ष्य छ’, आयोजना प्रमुख मिश्रले भने । उनले सरकारले आर्थिक वर्ष ०७३/०७४ को बजेटमा पनि आयोजनालाई यसै वर्ष सम्पन्न गर्ने योजना ल्याएकाले काम गर्न सहज हुने बताए ।
आयोजनाको काम अन्तिम चरणमा रहेकोले प्राधिकरण सञ्चालक समितिले सबै निर्णय सरल रुपमा गर्ने मिश्रको विश्वास छ । उनले उच्चस्तरीय अनुगमन समिति गठन गरी अनुगमन गनुपर्ने पनि बताए ।निर्णय प्रक्रिया तीव्र नभए एक वर्षभित्र आधारभूत रुपमा लोडसेडिङ हटाउने लक्ष्य पूरा गर्न गाह्रो पर्छ’ उनले भने-‘यसअघि म्याद थप नहुँदा आयोजनालाई निर्माण कम्पनीले गरेको कामको भुक्तानी दिन समस्या परेको थियो । अब सहज भएको छ ।’
ठेकेदारले माग्यो १ अर्ब क्षतिपूर्ति
ठेकेदार कम्पनी सिनो हाइड्रोले आयोजना अवधि लम्बिएपछि बन्द, हड्ताल, मूल्यवृद्धिलगायतको कारण देखाउँदै क्षतिपूर्ति वापत करिब एक अर्ब रुपैयाँ दाबी गरेको छ ।तर, अहिलेसम्म कम्पनीलाई क्षतिपूर्ति दिनेबारे निर्णय भएको छैन । सिनो हाइड्रोले गरेको क्षतिपूर्ति दाबीको विषय विवाद निरुपण समितिमा पुगेको आयोजनाले जनाएको छ ।समितिले सिनो हाइड्रोको दाबीमध्ये ३१ करोड रुपैयाँ भुक्तानी दिन उचित ठहर्याए पनि प्राधिकरणले हालसम्म भुक्तानी गरेको छैन । प्राधिकरणले क्षतिपूर्तिको विषयलाई मध्यस्थकर्ता -आर्बिटेशन) सम्म पुर्याएको जानकारी दिएको छ ।सिनो हाइड्रोले ३१ करोड रुपैयाँ भुक्तानी दिन आयोजनालाई दबाव दिइरहेको छ । यस विषयमा प्राधिकरण सञ्चालक समितिले बेलैमा निर्णय नगर काम रोकिन सक्ने आयोजनाको भनाइ छ ।
जोड्ने सामान चीनमै !
इलेक्ट्रोमेकानिकल काम पनि अत्यन्तै ढिलो गतिमा भइरहेको आयोजनाले जनाएको छ । निर्माण ठेक्का पाएको चीनको झी झियाङ जेन लुन इलेक्ट्रोमेकानिक कम्पनी लिमिटेडले आफ्नो मुख्य प्राविधिकलाई नखटाउँदा समस्या भएको आयोजना प्रमुख मिश्रले बताए ।टावर ठड्याउनेसहित टर्वाइन जेनेरेटर, कन्ट्रोल उपकरण, सञ्चार उपकरण, स्वीच र्यार्ड जोड्ने लगायत थुप्रै काम बाँकी नै छ । त्यसका लागि आवश्यक ३० प्रतिशत उपकरण अझै चीनमै रहेको आयोजनाले जनाएको छ ।इलेक्ट्रोमेकानिकल कामका लागि ल्याइएको रोटर मेशिन सन् २०१४ डिसेम्बरमा ल्याइएको थियो । तर, आयोजनास्थल नजिकैको पुलमा गाडी पल्टिएर मेसिन बिगि्रएपछि फेरि चीनबाटै ल्याउनुपर्ने भएको छ ।




No comments: