''बाँदरमुढे घटनाको ११ वर्ष, उचित न्याय दिन पीडितको माग,'

बाँदरमुढे घटनाको ११ वर्ष, उचित न्याय दिन पीडितको माग


२३ जेठ, चितवन। चितवनको दक्षिण माडीमा तत्कालीन नेकपा माओवादीले यात्रुबाहक बसमा गरेको बम विस्फोटमा परी घाइते भएकाहरुले उचित न्याय दिन माग गरेका छन् ।

बाँदरमुढे घटना पीडित सङ्घर्ष समितिका उपाध्यक्ष कृष्ण अधिकारीले न्याय नपाउने आशङ्का बढिरहेको भन्दै पीडितलाई थप पीडा नदिन आग्रह गरे ।

न्याय दिन आलटाल भइरहेको भन्दै पीडितले उचित न्याय दिनेतर्फ सबै गम्भीर हुनुपर्ने बताएका छन् । सो घटना भएको आज ११ वर्ष पूरा भएको छ ।

विसं २०६२ जेठ २३ गते बाँदरमुढे घटनामा परी ३८ जनाको ज्यान गएको थियो भने ७२ जना घाइते भएका थिए ।

अयोध्यापुरीबाट यात्रु लिएर नारायणगढ आउँदै गरेको ना२ख ३२४५ नंको बसमा माओवादीले बम विस्फोट गराएका थिए ।

अहिलेसम्म घाइतेमध्ये थप चार जनाको मृत्यु भएको छ भने चार जनाले नियमित रुपमा मानसिक औषधि खाइरहेका छन् । अन्य घाइतेको अवस्थासमेत सामान्य हुन नसकेको घटना पीडित सङ्घर्ष समितिका उपाध्यक्ष अधिकारीले जानकारी दिए ।

अधिकारीका अनुसार घटनामा टाउकोमा चोट लागेका घाइते गङ्गाबहादुर गुरुङको दुई वर्षपछि मृत्यु भएको थियो । त्यस्तै चुनु केसीको चार वर्षपछि, नरहरि सापकोटाको डेढ वर्षपछि र नारायणदत्त पौडेलको तीन वर्षपछि निधन भएको थियो ।

गएको फागुनमा सत्य निरुपण तथा मेलमिलाप आयोगद्वारा उनीहरुसँग गरेको छलफलसमेत प्रभावकारी हुन नसकेको पीडितले बताएका छन् ।

दुई दिन लगाएर आयोगको टोलीले जिल्लाका विभिन्न घटनामा परी आफन्त गुमाएका र पीडित भएका प्रतिनिधि, सरकारी अधिकारी तथा माडी बाँदरमुढे घटना पीडितसँग छलफल गरेको थियो ।

सो क्रममा द्वन्द्वपीडितले न्याय दिलाइदिन माग गरेको पीडितले बताएका छन् । मानवता विरोधी घटना भएकाले मेलमिलाप गर्न नसकिने पीडितको प्रतिक्रिया छ ।

No comments:

| Copyright © 2016 aaj ko naya khabar